किन युवा र शिक्षित राजनीतिमा आउने चाहना नै गर्दैनन् ?

  •   काठमाडौं
  •   १४ भाद्र २०७८, सोमबार
  •   सबिन घिमिरे
    • नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिर्वतनका संवाहक हुन् । सन् १९९० पछि सुरु भएको एकात्मक राजतन्त्र तथा जहानिया राणाशासनविरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेस आन्दोलनसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ

    शुक्रराज, धर्मभक्त तथा दशरथ चन्ददेखि सुरु भएको राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको लडाइँदेखि सप्तरीको दसगजामा राष्ट्रियता र देशको सीमारक्षाको निम्ति युवाको प्रतिकारले युवाको त्याग र बलिदानलाई स्पष्ट पारेको छ ।

    नेपालका राजनीतिक आन्दोलन भिन्न–भिन्न उद्देश्यका लागि भएका थिए । आन्दोलनकै जगमा ठूला–ठूला परिवर्तन कम मानवीय एवं भौतिक क्षतिमा छोटो समयमै उपलब्धि भए । ती आन्दोलन सफलताको पछाडि हिजोका युवाको त्याग र बलिदान जोडिएको छ ।

    निरंकुश पञ्चायत व्यवस्थाविरुद्धको लडाइँ होस्, दसवर्षे सशस्त्र संघर्ष वा पछिल्लो मधेस आन्दोलन, सबै आन्दोलनमा युवाले आफ्नो व्यक्तिगत जीवन त्यागी राष्ट्रिय स्वार्थको निम्ति हजारौंको संख्यामा सहिद, घाइते तथा बेपत्ता भएको इतिहास ज्वलन्त छ । तर उपलब्धिलाई उचित ढंगले प्रयोग गरी देशको आर्थिक विकास गर्ने कुरामा नेपाल सधैँ असफल भएको छ । यसका पछाडिको मुख्य कारण आजका युवा शक्तिको दृढ इच्छाशक्ति, राजनीतिक झुकाव र त्यसको प्रयोग नहुनु हो । त्यसमध्येका विभिन्न कारणको बारेमा आफ्ना तर्क प्रस्तुत गर्न चाहन्छु ।

    यहाँ आजका नयाँ पुस्ताका युवा र शिक्षित राजनीतिमा आउने चाहना नै गर्दैनन् । हिजोदेखिको राजनीतिक संस्कार वा पद्धतिको निरन्तरता नै युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनुको मुख्य कारण हो । राजनीतिप्रति नेपाली समाजको बुझाइ पनि त्यति सकारात्मक छैन ।

    अस्तित्वमा रहेका राजनीतिक दलको क्रियाकलाप यसको मूल जड हो । राजनीतिक आरक्षणमा मौलाएको गुन्डागर्र्दी, भ्रष्टाचार, ठेगदारी, सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले युवा र शिक्षित वर्गलाई राजनीतिप्रति दिनप्रतिदन वितृष्णा फैलाइराखेको छ ।

    परिणामस्वरूप देश निर्माणका खम्बा युवा र शिक्षित वर्ग आज राजनीतिक चासो र उपस्थितिमा पर छ । जसका कारण अयोग्य, अशिक्षित र नेतृत्वविहीन व्यक्तित्वले राजनीति गरिरहेका छन् । हिजोकै पुराना वादबाट ग्रसित वयस्क नेताबाट आजका पार्टीहरू चलेका छन् । जसको कारण बदलिएको नेपाली समाज र यसको आवश्यकतालाई सम्बोधन गर्न ती पार्टीले सकेका छैनन् ।

    समाज विकास निरन्तर गतिमा छ । क्षणक्षणमा समाज रूपान्तरण भएको छ । समाज रूपान्तरणसँगै समाजका अवयव पनि बदलिएका छन् । समाज बदल्ने साधन राजनीति पनि क्षणक्षणमा बदलिएको छ । यसरी राजनीतिक दर्शनले समयको गति पक्रन सकेकै कारण छिमेकी देश चीन र भारत आज विश्व आर्थिक बजारमा आफूलाई गतिलो रूपमा स्थापित गर्न सकेका छन् ।

    सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर हजारौं ऊर्जाशील,गतिशील, श्रमशील युवाविना काम बस्न बाध्य छन् । राज्य र कुनै पनि पार्र्टीले युवालाई रोजगार दिने अग्रसरता देखाएका छैनन् ।

    नेपाली समाज पनि बदलिएको छ । विडम्बना समाज बदल्ने साधन राजनीति बदलिएको छैन । राजनीति धर्मशास्त्र बनेको छ । पुस्तौंपुस्तासम्म पनि अठारौं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छ ।

    यी दर्शनका उत्खननकर्ता र उनीहरूको देशमा समयसापेक्षिक राजनीतिक दर्शनको बहस र प्रयोग भइरहेको छ, तर यहाँका पार्टी बदलिएको समाज र यसको आवश्यकताविपरीत धर्मशास्त्रवादी राजनीतिक दर्शनको बहस र प्रयोग गर्न खोजेका छन् । जसले समाजको रूपान्तरणसँगै बदलिएका जनआकांक्षाको सम्बोधन हुन सकेको छैन । परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति पनि राजनीतिमा समायोजन हुन त्यति सकेको छैन ।

    त्यस्तै नेपाली युवाको अर्को महत्त्वपर्ण समस्या भनेको बेरोजगार हो, लाखौं युवा स्वदेशमा रोजगार नपाएर रोजगारको लागि बिदेसिन विवश भएका छन् । अझै लाखौं युवा कामको खोजीमा स्वदेशमै भौंतारिएर बसेका छन् । सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर हजारौं ऊर्जाशील,गतिशील, श्रमशील युवाविना काम बस्न बाध्य छन् ।

    राज्य र कुनै पनि पार्र्टीले युवालाई रोजगार दिने अग्रसरता देखाएका छैनन् । बरु पार्टीले देशमा बेरोजगार समस्या बढाएर बेरोजगार युवालाई आफ्नो पार्टीमा प्रवेश गराई देशमा अस्थिरता उत्पन्न गर्न लागेका छन् । राजनीतिको नाममा हुने विभिन्न उच्छृंखल गतिविधिमा निर्दोष युवालाई प्रयोग गरिरहेका छन् ।

    सिर्जनशील युवा पार्टीमा शक्ति प्रदर्शन गर्ने ढाल बनेका छन् र त्यसैले त एकअर्काविरुद्ध लड्न विवश छन् । देश यसरी अस्थिर हुनुको प्रमुख कारण युवा बेरोजगार र राजनीतिक पार्टीको ढाल बन्नु हो । अतः युवाको अर्को प्रमुख समस्या भनेको बढ्दो बेरोजगार समस्या नै हो ।

    युवाको अर्को समस्या भनेको कुलत तथा दुव्र्यसन हो । आज पनि हजारौं युवा कुलत तथा दुव्र्यसनको प्रत्यक्ष सिकार भएका छन् । उनीहरू विभिन्न लागूपदार्थको प्रयोग गर्छन् । सिरिन्च लगाउने, चरेश, गाँजा र ट्याब्लेट खाने हिरोइन र अफिम खानेलगायतका कार्यमा युवा अग्रसर भएका छन् । कुलत, बेरोजगार तथा संगतका कारण उनीहरू विभिन्न आपराधिक गतिविधिमा पनि छन् ।

    हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी डकैती, अपहरणजस्ता घटनामा समेत नेपाली युवा मुछिन थालेका छन् । यसप्रकार देश निर्माणका युवाशक्ति कतै पार्टीको ढाल बनेर, कतै बरोजगार त कतै कुलत तथा दुव्र्यसनले आफ्नो उर्वर उमेरमा आफ्नो र राष्ट्रको लागि केही गर्ने समयमा त्यसै बस्न विवश छन् ।

    अन्त्यमा चाणक्यले भने झैं शिक्षित व्यक्ति राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् । अतः शिक्षित युवा राजनीति र यसको नेतृत्वमा आएन भने यो एउटा दण्डको भागीदार भइन्छ । यो राष्ट्र संक्रमणकाल र न्यून विकासको अवस्थामा छ । राजनीतिक जटिलतासँगै विकास निर्माणमा पनि जटिलता उत्पन्न भइरहेको छ । युवाको काँधमा जिम्मेवारी छ । हामीले यो समयमा आफ्नो राष्ट्रको निम्ति सोचेनौं भने आउने पुस्ताले धिक्कार्नेछ ।

    त्यसैले यो जटिल समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा एकछिन सोच्नैपर्छ । माओले भने झैं– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *