रोशिको तीन धारा झरनाः आन्तरिक पर्यटकहरुको भिड

  •   काठमाडौं
  •   २३ भाद्र २०७७, मंगलवार
  •   खुल्ला खबर
  • २३ भदौ, काभ्रेपलाञ्चोक । जिल्ला स्थित रोशी गाउँपालिका वडा नं. २ मा रहेको तीन धारा झरना पछिल्लो केही हप्ता देखि जिल्ला भित्र मात्र नभई देश भित्रै चर्चाको शिखरमा रहेको छ । जुन झरनामा यती बेला दैनिक दुई सय भन्दा बढी मोटरसाईकल र पन्ध्र भन्दा साना गाडीहरुमा पाँच सय भन्दा बढी आन्तरिक पर्यटकहरु झरना र वरपरको सुन्दर मनोरम दृष्य अवलोकन गर्न पुग्ने गरेका छन् ।

    तीन धारा जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब ४२ कि. मि. दक्षिण तर्फ पर्दछ । तीन धारा झरनालाई गन्तब्य स्थाल बनाएर जाने पर्यटकहरु मोटरसाईकल मार्फत् धुलिखेलबाट वि.पि. हाई–वे हुँदै काभे्र भञ्ज्याङ चोकबाट दाहिने तर्फ अगाडी बढे पछि करिब १५–२० मिनेटमा फुलबारी पुग्नेछ । केही समयको यात्रा पश्चात नै बाटोबाट नै विश्वप्रशिद्ध नमोबुद्ध स्तुपा, गुम्बाहरुको दृष्य देखिने छन् । श्यामपाटीबाट कपरढुङ्गा, पुरानो गाँउ हुँदै पूर्वको गेटको रुपमा परिचित नेवार जातको बस्ती रहेको दाप्चा बजारको दृष्यहरु भेटिने छन् । माथिल्लो हटिया पुगे पछि दाहिने तर्फबाट ओरालो झर्दै नेपाने हुँदै गहत्ते भएर वा बाघमारा भन्ज्याङ, दारिमबोट, पिपलटार हुँदै रोशी गाउँपालिका वडा नं. १, २ र ३ को संगमस्थलको रुपमा परिचित फलामेसाँघु पुग्ने गर्दछ । फलामेसाँघुबाट नारायणटार, पुरानोगाँउ, भुसुने भएर काफल डाँडा पुग्ने गर्दछ भने चण्डी डाँडा, गुम्बागाँउ हुँदैै पनि काफल डाँडा सम्म पुग्ने गरेका छन् । फलामेसाँघुबाट करिब ४५ मिनेटको यात्रामा काफलडाँडा पुगि सकेपछि पैदल यात्राबाट करिब २५ मिनेट जति प्राकृतिक मनमोहक दृष्य अवलोकन गर्दै झरना पुग्ने गरिन्छ ।

    उक्त क्षेत्रमा घुम्न आउने पर्यटकहरुको मन लोभ्याउने तीन धारा झरना मात्रै नभई नाग दह, महाभिर झरना र रानी झरना समेत रहेको र ती सबैको ऐतिहासिक महत्व समेत रहेको वडा नं. २ का अध्यक्ष पोते लामाले बताए । वि.सं. २०२८ सालमा नै पर्यटन विभागमा सूचिकृत भै सकेको तीन धारा झरनामा स्नान गरेमा सामान्य रोगहरु निको हुनुको साथै समस्त प्रकृतिप्रेमीहरुमा प्रकृतिको उपहारलाई भरपुर उपयोग र उपभोग गर्न गराउन वडा नं. १ का अध्यक्ष श्रीदास लामाले अनुरोध गरेका छन् । देशमा रहेका तीनै तहका सरकारले यस क्षेत्रमा लुकेर रहेका यी र यस्तै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई संरक्षण, सम्बर्दन र प्रचार प्रसारको लागि छिटै ध्यान दिनको लागि स्थानीय युवा नन्दराज पोखरेलले अनुरोध गरेका छन् ।

    कोरोना भाइस संक्रमणको उच्च जोखिम भएको भन्दै जिल्लाहरु, स्थानीय पालिकाहरु र वडाहरुमा समेत फरक फरक सूचना निकाल्दै अत्य आवश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गर्न सूचना जारी गरिरहेको छ । जारी सूचना अनुसार सम्बन्धित क्षेत्रको अति आवश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द भईरहेको छ । जिल्लाको रोशी गाउँपालिकाको कार्यालयले पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर अत्य आवश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गर्न आह्वान गरि रहेको छ । त्यती मात्रै नभई पछिल्लो पटक सोही गाउँपालिकाको वडा नं. १, २ र ३ का वडा अध्यक्षहरुले संयुक्त रुपमै जारी सूचनामा आवश्यक गतिविधि बाहेक अन्य क्रियाकलापहरु नगर्न, भिडभाड नगर्न र अति आवश्यक बाहेकका अनावश्यक सवारी साधन नचलाउन समेत आह्वान गरेको थियो । तर यती बेला तीन धारा झरना हेर्न आउने पर्यटकहरुको भीडले गर्दा उक्त जारी सूचना रोशी गाउँपालिका वडा नंं. १ र २ को अध्यक्षद्धयले कार्यान्वयन गर्न कठिन मात्रै होईन झरनाको संरक्षणको साथै सुरक्षाको ब्यवस्था गर्ने थप जिम्मेवारी समेत बढेको छ ।

    झरना घुम्न, हेर्न आउने पर्यटकहरुको संख्या दिन प्रति दिन बढ्दै गएको हुनाले स्थानीय जनप्रतिनिधिहरुले झरनासम्म पुग्ने पैदल मार्गलाई सुरक्षित बनाउनु पर्ने देखिन्छ । झरनामा प्लास्टिकजन्य फोहोरहरु, साबुन प्रयोग जस्ता कार्यहरुलाई ब्यबस्थित गर्न र सम्भावित दुर्घटना हुन नदिनको लागि स्थानीय प्रहरी चौकिबाट प्रहरी खटाउनु पर्ने जरुरी समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *